भक्तपुरमा पुस्तक प्रदर्शनी हुने

होमल्याण्ड खबर

२०७६ माघ २४ गते, शुक्रबार १३:०५ मा प्रकाशित

कला र संस्कृतिको राजधानी भक्तपुरमा पुस्तक प्रदर्शनी हुने भएको छ ।

भक्तपुरका स्थानीय युवाहरुको सक्रियतामा स्थापित आरम्भ नेपालले फागुन २ गतेदेखि पुस्तक प्रदर्शनी गर्न लागेका हो ।

प्रदर्शनीले विभिन्न विधा, विषय र क्षेत्रका किताबहरुलाई एकै स्थलमा जम्मा गरी किताब पारखीहरुलाई किताब किन्ने वातावरण सिर्जना गराउने उद्देश्यले भक्तपुरमा तीन दिने (फागुन २, ३ र ४ गते ) पुस्तक प्रदर्शनी आयोजना गर्न लागिएको कार्यक्रम संयोजक कृष्णप्रसाद त्वीत्वीले जानकारी दिए ।

उनले भक्तपुर नगरपालिका–९ को कमलविनायक लामगाल चौरमा प्रदर्शनी गरिने जनाउँदै सोको तयारी तीब्र रुपमा अघि बढेको बताए ।

प्रदर्शनीमा भक्तपुर जिल्लाका मात्र नभएर काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट पनि अवलोकनकर्ताहरुको उपस्थिति रहने आयोजकले बताएको छ । विभिन्न विद्यालय, शैक्षिक संस्था, पुस्ताकालय, विश्वविद्यालय, क्याम्पस, आम सर्वसाधारण गरी करिब डेढ लाखले प्रदर्शनीको अवलोकन गरिने आयोजकले अनुमान गरेको छ ।

प्रदर्शनीमा विभिन्न ख्यातिप्राप्त पुस्तकका लेखक र पाठकबीच प्रत्यक्ष अन्तरक्रिया, हालको शैक्षिक अवस्थामा सकारात्मक परिवर्तन गर्न अन्तरक्रियात्मक वातावरण, पुस्तक विमोचन, अध्ययन र पर्यटनबारे छलफल, कार्टुन तथा फोटो प्रदर्शनी, नेवारी खाजा तथा परिकारको प्रदर्शनी, विभिन्न साहित्यिक कार्यक्रम तथा प्रतियोगिता, प्रसिद्ध नवदुर्गा नाचसँग सम्बन्धित मुकुण्डो प्रदर्शनी समेत हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा पुस्तकका मात्र ३५ बढी स्टल रहने आयोजकको प्रारम्भिक अनुमान छ ।