६ चैत्र २०८२, शुक्रबार
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले कानुन कार्यान्वयनमा नचुक्ने र उच्च मनोबलका साथ कर्तव्यपथमा सिंगो संगठन लाग्ने बताएका छन् । गृहमन्त्रालयमा गृहसचिव महेश्वर न्यौपानेबाट दज्र्यानी चिह्न ग्रहण गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गर्दै आईजीपी ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउन प्रहरी दृढ रहेको बताए ।


उनले जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रहरी महानिरीक्षकदेखि प्रहरी जवानसम्मका सबै दर्जा प्रतिबद्ध रहेको उल्लेख गरे ।
प्रहरीले सम्पादन गर्ने हरेक जिम्मेवारी व्यावसायिक र पारदर्शी तवरबाट सम्पादन हुने उल्लेख गर्दै गृह मन्त्रालयले तय गरेको मार्गदर्शनमा रही उत्कृष्ट संगठनका रूपमा नेपाल प्रहरीलाई स्थापित गराउन सक्रिय रहने दृढता ज्ञवालीले व्यक्त गरे ।
ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा सरकारलाई आभार व्यक्त गरे ।
नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले गृह मन्त्रालयमा बुधबार आयोजित समारोहमा दर्ज्यानी चिन्ह ग्रहणपछि आजै आफ्नो कार्यकक्षमा पदबहाली गरे । प्रहरी महानिरीक्षक ज्ञवालीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंह, डीआईजी, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूले स्वागत गरे ।
विसं २०२२ असोज २८ गते प्यूठानमा जन्मिएका ज्ञवाली ०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गरेका थिए । प्रहरी महानिरीक्षक ज्ञवाली ०५८ वैशाख १८ गते प्रहरी नायव उपरीक्षक (डीएसपी), ०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक (एसपी), ०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ०७५ असोज २८ गते मंगलबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पदोन्नति भएका थिए ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका ज्ञवालीले विभिन्न ३३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसंघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रवल जनसेवाश्री पदक लगायतका विभूषणबाट विभूषित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।