१० मंसिर २०८१, सोमबार
विश्व रेडियो दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस सन् २०१२ बाट मनाउन सुरु गरिएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ तारिखमा रेडियो दिवस मनाउने गरिएको छ। रेडियोको महत्व र योगदान, चुनौतीहरुको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। त्यसयता हरेक रेडियो दिवसमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
यस वर्षको विश्व रेडियो दिवसको नारा ‘संवाद, सहिष्णुता र शान्ति’ राखिएको छ ।
नेपालमा २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो ।
२०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।