१० मंसिर २०८१, सोमबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी हेलिकप्टरमा भारतबाट सिधै प्रदेश नम्बर २ को धार्मिक स्थल जनकपुर आउने कार्यक्रम तय भएको छ । सो कुराको पुष्टि गृहमन्त्री रामबहादुर थापाले गर्नु भयो । गृहमन्त्री थापाका अनुसार बैशाख २८ गते मोदीका ३ वटा जहाज जनकपुर अवतरण हुने छन् । गृहमन्त्री थापाले जनकपुरमा मोदीलाई स्वागत र नागरिक अभिनन्दन गरिने बताउनु भयो ।
जनकपुर ओर्लिएपछि मोदीले जानकी मन्दिरमा पूजापाठ गर्नुहुने छ । मोदी जनकपुर आउँदा उहाँलाई नागरिक अभिनन्दन गरिने रंगभूमि मैदान र पूजापाठ गर्ने जानकी मन्दिरको गृहमन्त्री थापासहितको उच्च सुरक्षा टिमले निरीक्षण गरेको छ । गृहमन्त्री थापाले मोदीको जनकपुर भ्रमणको सबै तयारी र सुरक्षाको बन्दोबस्त प्रदेश सरकारले गर्ने र संघीय सरकारले समन्वय गर्ने बताए ।
त्यसपछि उहाँ सोही दिन नै हिमाली जील्ला मुस्ताङ पुग्ने कार्यक्रम छ । मुक्तिनाथ मन्दिरमा पुजा गरेपछि मोदी अपरान्ह काठमाडौं आउने तय भएको गृहमन्त्री थापाले जानकारी दिनु भयो । मोदीको यो दोश्रो नेपाल भ्रमण हो । गृहमन्त्री थापाले मंगलबार बिहान हेलिकोप्टरबाट जनकपुर गएर मोदीको स्वागतको तयारी र सुरक्षा व्यवस्थाबारे पनि जानकार िलिनु भएको छ । त्यसको लागि महानिरीक्षक सर्वेन्द्र खनाल पनि सोमबार साँझ नै जनकपुर पुगिसक्नु भएको छ ।
गृहमन्त्री थापासँगै गृहसचिव प्रेमकुमार राई, गृह प्रवक्ता रामकुष्ण सुवेदी र तीनवटै सुरक्षा निकायका प्रमुखले सुरक्षा बन्दोबस्तबारे पनि जानकारी लिनुभएको छ । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले गृहमन्त्री थापा र सुरक्षानिकायका उच्च अधिकारीलाई मोदीको स्वागत र सुरक्षाका लागि गरिएको तयारी बारे जानकारी दिनुभयो ।
गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीको यो भ्रमण धार्मिक मात्र रहेको बताउनु भयो । उहाँको भ्रमणको अन्य कुनै उद्धेश्य नरहेको पनि थापाले जनाउनु भयो । मोदीको नेपाल भ्रमणलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ । उहाँको भ्रमण नितान्त धार्मिक भनिए पनि विश्लेषकहरुले त्यसले नेपालको राजनीतिमा ठुलो अर्थ लाग्ने बताउँछन् ।