देउवालाई ‘सात पटक प्रधानमन्त्री हुन्छौ’ भनी भविश्यबाणी गर्ने सिद्धबाबा जेल चलान

होमल्याण्ड खबर

२०७६ फाल्गुन २० गते, मंगलवार १४:४१ मा प्रकाशित

बलात्कार मुद्दामा अदालतबाट दोषी ठहरिएका ‘सिद्धबाबा’ले मंगलबार आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका बराहक्षेत्र चतराका रामानन्दाचार्य सेवापिठका संरक्षक ४५ वर्षीय कृष्णबहादुर गिरी अर्थात सिद्धबाबालाई कारागार चलान गरिएको छ । उनलाई उच्च अदालतको आदेश अनुसार झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको जनाइएको छ । साधुसन्तसहित आएका गिरीले आज करिब ११ बजे आत्मसमर्पण गरेका हुन् । उनलाई अदालतले थुनामा राखेर थप कारबाही अगाडि बढाउन आदेश दिएको थियो । सोही दिन गिरी फरार भएका थिए ।

एक महिलाले आफूलाई दीक्षा दिने बहानामा कात्तिक ४ गते राति सिद्धबाबाले बलात्कार गरेको उजुरी दिएकी थिइन् । उजुरी लगत्तै पक्राउ परेका गिरीलाई सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध ती महिला उच्च अदालत पुगेपछि अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा राख्न आदेश दिएको थियो ।