प्रधानमन्त्री ओलीकाे शरीरमा अब चार वटा मिर्गाैला रहने

होमल्याण्ड खबर

२०७६ फाल्गुन २१ गते, बुधबार १०:५० मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ ।

नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरूले बताएका छन् ।

प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि ०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरू बताउँछन् ।