काठमाडाैं उपत्यका छाड्नेको सङ्ख्या बढ्याे

होमल्याण्ड खबर

२०७६ चैत्र ७ गते, शुक्रबार १०:२५ मा प्रकाशित

काठमाडाैं उपत्यकाका शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाडाैं छाड्नेको सङ्ख्या बढेको छ ।

२४ घण्टामा काठमाडाैंका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

काठमाडाैं भित्रिनेको सङ्ख्या घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाडाैं आएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण काठमाडाैं उपत्यका छाड्नेको संख्या बढेको छ । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाडाैं छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो ।

सरकारले पनि अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ । वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।