सीमानामा अलपत्र नेपालीलाई नेपाल प्रवेशको अनुमति

होमल्याण्ड खबर

२०७६ चैत्र ११ गते, मंगलवार १८:०० मा प्रकाशित

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल-भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको त्रासले भारतबाट सीमा नाकामा  आइपुगेका नेपालीहरुलाई आजका  लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने तर उनीहरु क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने निर्णय भएको जानकारी दिए । सरकारले आइतबार नै सीमा बन्द गरिसकेकाले उनीहरुले नेपाल प्रवेश गर्न पाएका थिएनन् ।

बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा समग्रमा विश्लेषण पनि भएको बताइएको छ । बैठकमा स्वास्थ्य उपकारणहरु ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने र कोषहरु स्थापनाका बारेमा सवै संस्थाहरुले सरकारी कोषमा रकम जम्मा गर्न आह्वान गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै कसैले कोष बनाएमा जुन संस्थाले बनाएको कोष हो त्यस संस्थाका व्यक्तिहरुबाट मात्रै रकम संकलन गर्न र प्रत्येका साता जम्मा भएको रकम सरकारी कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।