११ जेष्ठ २०८३, सोमबार
लकडाउन घोषणा गरेसँगै नेपालमा अलपत्र परेका अमेरिकी पर्यटकलाई आज (मंगलबार) कतार एयरवेजको विमानले लगेको छ। कोरोना भाइरसको प्रकोप फैलिन नदिन गरिएको लकडाउनका कारण नेपालमै अड्किएका ३ सय २ जना अमेरिकी पर्यटकलाई कतार एयरवेजको वाइडबडी विमानले लिएको हो।
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलका अनुसार उक्त चार्टर उडान काठमाडौंस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकका लागि ल्याएको हो। दोहाबाट उनीहरु कतारकै अर्को विमानमा वासिङ्टन जाने कतार एयरवेजको काठमाडौं कार्यालयले जनाएको छ।


जहाजमा काठमाडौंमा अलपत्र परेका अमेरिकी नागरिक, विभिन्न एजेन्सीमा कार्यरत तथा ग्रिनकार्डबाहक नेपाली पनि रहेको एक अधिकारीले बताए। यस उडानमा दुई जना शिशु छन्। कतारले यसअघि फ्रेन्च र जर्मन दूतावासका लागि तीनवटा चार्टर उडान गरिसकेको छ। यसैबीच लकडाउनका कारण अलपत्र परेका अष्ट्रेलिया र न्यूजिल्याण्डका पर्यटकलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान भोलि दिउँसो मलेसिया हुँदै अष्ट्रेलियाको ब्रिसबेन जाँदैछ।