साल २०७६ जस्तो २०७७ नहोस्, नयाँ वर्षको शुभकामना !

होमल्याण्ड खबर

२०७७ बैशाख १ गते, सोमबार ०८:३२ मा प्रकाशित

नयाँ वर्ष २०७७ लाई स्वागत गर्न हामी नेपालीहरू उत्साहित हुन सक्ने अवस्था छैन । विश्व सँगै हामी पनि कोरोना भाइरस विरुद्धको युद्धमा छौँ । आज सबै नेपालीहरू आफ्नै घरमा बन्दी अवस्थामा छौँ । सायद, इतिहासमै पहिलो पटक यति निरशिलो र उमंग विहिन विहीन ढंगमा विक्रम सम्बतको नयाँ साललाई स्वागत गरिँदै छ ।

त्यसो त, साल २०७६ पनि नेपालीका लागि सुखद रहेन । एक वर्ष अघि नयाँ वर्षलाई स्वागत गर्दै गरेका कामनाहरु थेरै पनि पुरा भएनन् । राजनीतिक स्थिरता भित्रको वास्तविक अस्थिरता सबै नेपालीले महसुस गरे । जे जति आशा थिए सबैमा तुषारपात भयो।

राज्य सञ्चालनको जिम्मा लिएकाहरूले हजारौँ पटक सुख र समृद्धिका कुरा गरे । तर, आम नेपालीले भने त्यस तर्फको यात्रामा मुलुकले पहिलो कदम चालेको समेत देख्न पाएनन् । प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना, बालुवाटारका भू-माफियाहरूको भर्त्सना, पूर्व सभामुख महराको यौन काण्डको चर्चा, काँग्रेस सांसद आलमले जिउँदै मान्छे जलाएको घटनाको निन्दा, बास्कोटाको ७० करोड घुस काण्ड लगायतका खबरहरू कान टट्याउने गरी सुन्नु पर्‍यो ।

वर्षको अन्त्यमा विश्वलाई नै लपेटेको कोरोना भाइरसको सन्त्रासमा लकडाउन भोगिरहेका नेपाली नागरिकले त्यो बेला समेत भर परेकाहरूबाट सुखद खबर प्राप्त गर्न सकेनन् । लोक लाज केहिको हेक्का नराखी स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गरेको छर्लगं देखियो । प्रधानमन्त्रीले त्यसको बचाऊ नै गर्न खोजे । जनता झन् निराश बन्न बाध्य भए ।

यी सबै फेरि नदोहोरियोस् भन्ने कामना गर्नु बाहेक निरीह नेपाली नागरिकसँग विकल्प छैन । आज, वैशाख १ गतेको सूर्योदयले सम्पूर्ण नेपाली नागरिकका असीम इच्छा, आकाङ्क्षा, चाहाना र भावना पूर्ति गर्ने सन्देश बोकेर आओस् । सूर्यका किरणहरूले सारा संसार सँगै दुखी नेपाली जनतालाई थप पिडा थप्दै गरेको कोरोना भाइरसको अन्त्य गरोस् । भोक र अभाव तर्फ धकेलिँदै गरेको नेपालीको भाग्य सुखको बाटो तर्फ मोडियोस् ।

२०७६ को अन्तिम दिन आम नेपाली आगामी वर्ष थप दुख, अभाव र समस्यामा बाच्नु पर्ने हुन सक्छ भन्दै विश्व बैङ्कले गरेको अनुमान गलत साबित होस् । नेपाल र नेपालीको लागि नयाँ साल २०७७ उन्नति, प्रगति, सुख, शान्ति र अमन चैनको वर्ष बनोस् ।

उल्लेखित चाहाना र भावना पूर्ति गर्ने तर्फ राज्यका हरेक जिम्मेवार नागरिकको ध्यान जाओस् । सरकारमा बसेकाहरूको सद्बुद्धि आओस् । जस्तो सुकै समस्यामा भए पनि सत्य र न्यायको पक्षमा उभिने नेपालीको चरित्रमा परिवर्तन नहोस् ।

नेपाली जनतालाई सू–सुचित गर्ने जिम्मेवारीबाट सञ्चार माध्यम विमुख नबनुन् । मिडियालाई साथ दिन नसके पनि तगारो बनेर सरकार नउभियोस् । आफ्नो गल्ती स्विकार्ने क्षमता सबै तह, तप्का, निकाय र संगठनहरुमा विकास होस् । हामी विकास, समृद्धि, आर्थिक गतिविधि र अर्थ-राजनीतिका विविध कोणबाट नेपाली नागरिकलाई सूचित गर्ने कर्तव्य जस्तो सुकै कठिन परिवेशमा पनि पुरा गर्ने अठोट व्यक्त गर्न चाहन्छौँ ।

अन्त्यमा, नयाँ वर्ष २०७७ मा सबै नेपालीहरू रोग, शोक, महामारी, अभाव, अशान्ति र निराशाबाट मुक्त भई सुख, शान्ति र स्वस्थ रहुन् !

हाेमल्याण परिवारकाे तर्फबाट नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना !