१० मंसिर २०८१, सोमबार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुस्ताङको तीर्थ गर्ने भएपछि सयौँ पर्यटक अलपत्र पर्ने भएका छन् । आगामी वैशाख २८ मोदीले मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम भएपछि २८ र २९ गते २ दिन पदयात्रा बन्द गरिने जनाइएको छ । यही बन्दका कारण आन्तरिक तथा बाह्य पर्यटक बीच बाटोमै अलपत्र पर्ने भएका हुन् ।
मोदीका भ्रमण तालिका कारण सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय, मनाङ र मुस्ताङले २८ र २९ गते मनाङ–थोरङ्ला र मुस्ताङ–थोरङ्ला–मनाङ पदयात्रामा रोक लगाउने जनाएको छ । पदयात्रा २ दिन बन्द हुने भएपछि मनाङ–थोरङ्ला र मुस्ताङ–थोरङ्ला–मनाङ पदयात्रा गर्न सयौं पदयात्रीबीच मै अलपत्र पर्नेछन् ।
अहिले उनीहरु अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापलाई शुल्क बुझाएर यात्रा थालिसकेका छन् । कतिपय पदयात्री बाटोमै छन् भने कतिपय यात्राको तयारीमा छन्। मोदीको भ्रमणले यात्रा तय भइसकेका र जाने तयारी मा रहेका पर्यटकलाई पर्ने जनाइएको छ ।
२८ र २९ गते थोरङ्ला पदमार्ग लगायतका क्षेत्रमा हेलिकोप्टर उडानमासमेत रोक लगाईने भएपछि हवाइमार्ग मार्फत त्यहाँ जाने अरु पर्यटक मर्कामा पर्ने छन् ।
पदयात्रा रोकिँदा पदयात्रा सुरु गरेका पर्यटकले थोरङ्लाफेदी, मनाङ, मुस्ताङमै बास बस्नुपर्ने हुन्छ । त्यसो हुँदा उनीहरु र सम्बन्धित ट्रेकिङ कम्पनीको खर्चसमेत बढ्ने भएकाले पदमार्ग बन्द नगर्न सम्वद्ध निकायले ध्यानाकर्षण गराएका छन् ।
एक्यापका प्रमुख विनोद बस्नेतले पदयात्रामा हुने समय परिवर्तन र असुविधा समाधानगर्ने बिषयमा छलफल भइरहेका बताउनु भयो । एक्यापले पदयात्रा गरेबापत विदेशीका हकमा २ हजार र सार्क नागरिकका लागि दुई सय रुपैयाँ लिने गरेको छ।आर्थिक हिसाबले पनि त्यहाँ २ दिनमा लाखौँको नोक्सान हुने एक्याम्पले जनाएको छ ।
यतिबेला म्याग्दी, बेनी हुँदै मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत धेरै भएकाले उनीहरुलाई पनि समस्या हुने बताइएको छ ।