सरकारी चेतावनीपछि पनि रोकिएन प्रदर्शन, भक्तपुरमा युवाहरुले गरे ‘सत्याग्रह कार्यक्रम’

होमल्याण्ड खबर

२०७७ जेष्ठ ३० गते, शुक्रबार ११:५९ मा प्रकाशित

सरकारले हिजो शुक्रबार सूचना जारी गरेर सडक आन्दोलन नगर्न चेतावनी दिए पनि आज पुनः भक्तपुरको सल्लाघारीमा सरकार विरोधी प्रदर्शन गरिएको छ ।

सामाजिक सञ्जालमा आवद्ध युवाहरुको समूहले शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा गरेको प्रदर्शन पछि गृह मन्त्रालयले एक सूचना जारी गरी लकडाउनको उल्लंघन गरेर सडकमा प्रदर्शन गर्नेलाई कानून बमोजिम कारवाही गर्ने चेतावनी दिएको थियो । तर गृहको सूचनाको पर्वाह नगरी आज पनि भक्तपुरको सल्लाघारीमा स्वतस्फुर्तरुपमा भेला भएका युवाहरुको समूहले प्रदर्शनलाई निरन्तरत राखेका छन् ।

दिनानुदिन प्रदर्शनमा स्वतस्फुर्तरुपमा युवाहरुको सहभागित थपिदो छ भने प्रदर्शन देशव्यापी समेत बन्न पुगेको छ । हिजो शुक्रबार नै यही प्रकृतिको विरोध कार्यक्रम विराटनगर , पोखरा ,जनकपुर ,बीरगञ्जलगायतका ठाउँमा समेत आयोजना भएका थिए ।

आज भक्तपुरको सल्लाघारीमा पनि शान्तिपूर्णरुपमा प्रदर्शन जारी छ । जस्लाई उनीहरुले ‘सत्याग्रह कार्यक्रम’ नाम दिएका छन् । हिजो बालुवाटारमा प्रहरीले हस्तक्षेप गरेर पानीको फोहरा प्रयोग गरी प्रदर्शन तितरवितर पारेको थियो भने केहीलाई नियन्त्रणमा समेत लिएको थियो ।