११ जेष्ठ २०८३, सोमबार
सरकारले जारी गरेको नेपालको नयाँ नक्सालाई निशान छापको रुपमा प्रयोग गर्ने वैधानिक मान्यताका लागि प्रतिनिधि सभामा आज मतदान हुँदैछ । यस सम्बन्धि सरकारको प्रस्तावमा संसदमा रहेका सबै राजनीतिक दलबीच सहमति रहेकाले आजदेखि विधिवत रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्शा राखिएकाे नयाँ निशान छाप प्रयोगमा आउने भएकाे हाे ।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन । संविधान संशोधनको प्रस्ताव सर्वसम्मत रुपमा नै पारित हुने पनि लगभग पक्का जस्तै छ । नेपालको नक्साबाट छुटेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले तयार पारेको नक्शा मन्त्रिपरिषदबाट समेत स्वीकृत भइसकेको छ ।


संविधानमा व्यवस्था भए बमोजिम संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाई बहुमत जरुरी पर्छ । संविधान संशोधनको प्रस्तावलाई दुई तिहाईको बहुमतले पारित गरेपछि प्रस्तावित विधेयक अनुसार संविधान संशोधन गर्न सकिने प्रावधान संविधानमा छ । संविधान संशोधनको प्रस्ताव प्रतिनिधि सभा र राष्ट्रियसभाले पारित गरेपछि संविधान संशोधन गर्न बाटो खुल्नेछ । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्शा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसदमा संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।
शनिबारको प्रतिनिधिसभा बैठको कार्यसूचीमा संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र दफावार छलफलपछि पारित गर्ने सम्भावित कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।