राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाईने

होमल्याण्ड खबर

२०७७ असार ५ गते, शुक्रबार १९:२८ मा प्रकाशित

अब राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाईने भएकाे छ । गृह मन्त्रालयले  ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै अत्यावश्यक कामबाहेक आफू रहेको आवास वा कार्यालयबाट आवतजावत गर्न सर्वसाधारणलाई प्रतिबन्ध लगाएको हाे ।

असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको लागि यस्तो मापदण्ड तयार पारिएको गृह मन्त्रालयले जनाएको छ ।

साथसाथै मालसामान ढुवानी गर्ने कुनै पनि प्रकारको सवारी साधनहरूले  चालक,  सहचालकबाहेक अन्य कुनै पनि यात्रुहरूको ओसारपसार गर्न नपाइने नियम पनि मापदण्डमा उल्लेख छ।

यस्तै विवाह-ब्रतवन्ध मृत्यु-संस्कार चाडपर्व पूजापाठ लगायतका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्नैपर्ने अवस्थामा १५ जनाभन्दा बढी भेला गर्न नपाइने प्रावधान राखिएको छ।