नेपाली लिन आज २ जहाज दोहा र क्वालालाम्पुर जाँदै

होमल्याण्ड खबर

२०७७ असार १४ गते, आईतवार १०:०१ मा प्रकाशित

कोरोना भाइरसका कारण अलपत्र परेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज आज दोहा र क्वालालाम्पुरजाँदैछ । त्यस्तै हिमालय एयरलाइन्सको जहाज पनि क्वालालाम्पुर जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

शनिबार विभिन्न देशबाट ८ उडानमार्फत १३ सय १० नेपाली स्वदेश फर्किएका छन् । कतारको दोहाबाट कतार एयरवेजको चार्टर्ड उडानमार्फत पाँच बच्चासहित ३ सय ८४ जना, हङकङबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत १ बच्चासहित ८१ जना, यूएईको दुबईबाट १ सय ४६ जना, साउदीको दमामबाट हिमालय एयरमार्फत १ सय ५४ जना, साउदीकै रियादबाट नेपाल एयरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना र कुवेतको जजिरामार्फत ८१ जना नेपाली स्वदेश आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ ।

साउदीको रियादबाट १५ नेपालीको शव समेत ल्याइएको छ । यस्तै अस्ट्रेलिया मेलवर्नबाट दुई बच्चासहित २ सय १० जना स्वदेश फर्किएको विमानस्थलले जनाएको छ । शनिबार विमानस्थलमा नेपाली ल्याउन र लिन जान गरी ९ अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फ ६ उडान भएको थियो ।