तातोपानी र रसुवागढी नाकामा सहजिकरण गरिदिन व्यवसायीको आग्रह

होमल्याण्ड खबर

२०७७ असार २४ गते, बुधबार १६:०५ मा प्रकाशित

काठमाडौ : व्यवसायीहरूले दशैंका लागि बजारमा सामान भित्र्याउने तयारीमा लागेका छन्। करीब तीन महीनादेखि बजार बन्द भएको र विदेशबाट सामान आयात समेत गर्न नसकेका व्यवसायीहरूले नेपालका ठूला चाडपर्वलाई लक्षित गरेर सामाग्री आयात गर्ने तयारी थालेका छन्।
चाडपर्वमा धेरै विक्री हुने लत्ताकपडा लगायतका बस्तु चीनबाट आयात गर्नका लागि सहजिकरण गरिदिन नेपाल चेम्बर अफ कमर्सले चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेलाई अनुरोध गरेका छन्।
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि नेपाल र चीन दुवैतर्फबाट सीमा नाकाबाट हुने आवत जावतमा कडाइ भइरहेको छ। चीनसँग जोडिएको रसुवागढी नाकाबाट पछिल्लो केही महीनायता सामान आयातमा व्यवसायीहरूले समस्या भोग्दै आएका छन्।
केरूङबाट सामान ल्याउनका लागि सहजिकरण गरिदिन चीनका लागि नेपाली राजदूतलाई आग्रह गरेका छन्। विगत तीन महीनादेखि व्यापार ठप्प छ। दशैंका लागि सामान ल्याउनुपर्ने बेला आइसक्यो”, नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। नेपालमा रहेका चिनियाँ नागरिक लिनका लागि आएको चिनियाँ चार्टर्ड जहाजमा राजदूत पाण्डे आज बेइजिङ प्रस्थान गर्दैछन्।
नवनियुक्त राजदूत पाण्डे कार्यभार सम्हाल्न जान लागेको बेलामा व्यवसायीहरूले चीनबाट सामान ल्याउनको लागि सहज वातावरण बनाइदिन आग्रह गरेका हुन्।
“केरूङ नाकाबाट यात्रु पनि ओहोर दोहोर गर्न सक्ने व्यवस्था मिलाइदिन राजदूतलाई आग्रह गरेका छौं। केरूङ हुँदै ल्हासासम्म पुग्न सके व्यवसायीहरूले त्यहाँबाट हवाई उडान प्रयोग गर्न सक्छन”, श्रेष्ठले भने, “सामान अर्डर गर्नका लागि पनि चीनका विभिन्न बजार जानुपर्ने हुन्छ।”
तातोपानी र रसुवागढी नाकामा चिनियाँ पक्षबाट प्रक्रियात्मक जटिलता हुने भएकाले त्यसलाई सरलीकरण तथा सहजीकरणको पहल गरिदिन व्यवसायीहरूले राजदुतलाई आग्रह गरेका छन्।
“ठूला चाडपर्वको लागि सामान ल्याउनको लागि दुवैतर्फको नाका निर्वाध रूपमा सञ्चालन हुन आवश्यक छ। त्यसको पहल गरिदिन अनुरोध गरेका छौं”, श्रेष्ठले भने।
कार्यभार सम्हाल्न चीन जान लागेका राजदूत पाण्डेले नेपाल–चीनको व्यापार सहजिकरणमा आफूले सक्दो प्रयास गर्ने बताएका छन्।