११ जेष्ठ २०८३, सोमबार
कास्की । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । म्याग्दीमा पहिरोमा परी ७ जना बेपत्ता भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर बिहीबार राति पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।


थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । घटनामा ३ वटा बाख्रा पुरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर पहिरोले पुरिँदा चन्द्रबहादुर श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयोे । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ । स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको छ ।
म्याग्दीमा पहिरोमा ६ बेपत्ता
म्याग्दीको धौलागिरी गाउँपालिका वडानम्बर ६ मराङको रिखामा पहिरोमा ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएको मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिनुभयो । सुवेदीका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
स्थानीयवासीसमेत रहेका वडा सदस्य लोकबहादुर पुनले भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको बताउनुभयो । उहाँले माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका बताउनुभयो । घण्टीवाङ मुनीको रिखामा ६ घरको बसोबास थियो तिमध्ये ४ घर विस्थापित भएका छन् । गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको वडा सदस्य पुनको भनाइ छ । पहिरो खसिरहेकाले भागाभाग जारी रहेको उहाँले बताउनुभयो ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले २ घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको स्थानीय भुवानी पौडेलले जानकारी दिनुभयो । घरका मानिसले भागेर ज्यान बचाएका छन् भने भाग्ने क्रममा एक जना घाइते भएका छन् । यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जिप भत्काएर बगाएको हो । पुल म्याग्दीको बेनी नगरपालिका वडानम्बर ९ गलेश्वर र रघुगङ्गा गाउँपालिकाको वडानम्बर ३ राहुघाटको सिमानामा पर्छ । बेलिब्रिज बगाएपछि रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क विच्छेद भएको छ ।
गलेश्वरका स्थानीयले ठेकेदारले पक्की पुल बनाउन ढिलाइ गर्दा बेलिब्रिज कटानको जोखिममा परेर बगाएको बताएका छन् । बेलिब्रिजको छेउमा पक्की पुल निर्माणको क्रममा छ । पहिरो प्रभावित मराङको रिखा र कल्लेनीमा ताकम, दरवाङ र बेनीबाट प्रहरी टोली पठाइएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थल नपुगिसकेकाले विस्तृत जानकारी आउन बाँकी छ ।