११ जेष्ठ २०८३, सोमबार
रौतहट। बाढीका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । बिहिबार रातिदेखि परेको लगातारको वर्षापछि शुक्रबार बिहानबाट पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो । अविरल वर्षाका कारण चन्द्रपुर २ स्थित लच्कामा आएको बाढीले सडक अवरुद्ध गरेको हो । राजमार्गमा गुड्ने ठूला साधनलाई पालैपालो पास गराएपनि साना साधन जान सक्ने अवस्था नरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक शैलेस न्यौपानेले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक र सशस्त्र प्रहरीले बाढीको अवस्था हेरेर ठूला गाडीलाई पालैपालो गरी पास गराउने गरेको न्यौपानेले बताउनुभयो । लच्कामा बाढीका कारण झण्डै ३ सयको हाराहारीमा मालबाहक ट्रक, साना जिप, कार, मोटरसाईकल र एम्बुलेन्स रोकिएका छन् । जोखिमपूर्ण रुपमा केही मानिसहरु मोटरसाईकल गुडाएर वारपार गरेका छन् भने केहीले काँधमा साईकल बोकेर वारपार गरिरहेका छन् ।


लगातारको वर्षापछि जिल्लाको दक्षिण भेगमा पनि पानी जम्न थालेको छ । पानीले निकास नपाउँदा उत्तरी भेगका केही गाउँ डुबानमा पर्ने देखिएको छ । केही नदीमा पानीको बहाव बढेर खतराको तहसम्म पुग्ने अनुमान गरिएको छ । गत वर्ष असार र साउनमा लगातारको वर्षापछि जिल्लाको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो भने करोडौँको क्षति भएको थियो ।