नयाँ पत्रिकाका कार्यकारी निर्देशक थापाको जिमी ग्रुपविरूद्ध १८ करोड ३३ लाख करछलीको मुद्दा

होमल्याण्ड खबर

२०७७ असार २६ गते, शुक्रबार १३:५१ मा प्रकाशित

काठमाडौं,  राजश्व अनुसन्धान विभागले फर्जी कारोबार देखाएर कर छली गरेको भन्दै जिमी ग्रुपविरूद्ध मुद्दा दायर गरेको छ। विभागले असार २१ गते उक्त ग्रुपविरूद्ध १८ करोड ३३ लाख बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

झुठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिल प्रयोग गरी राजश्व छली गरेकाले काठमाडौ महानगरपालिका वडा नं. ४ ठेगाना भएको जिमी ग्रुप प्रालिविरूद्ध विभागले मुद्दा दायर गरेको जानकारी गराएको छ। विभागले बिगो असुल उपर गरी कम्पनीका सञ्चालकहरूलाई जरिवाना र कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो। यो ग्रुपले नेपालमा चामल, दाल, तेलको आयात तथा वितरण गर्दै आएको छ।

विभागले यो जिमीविरूद्ध तीन ओटा अभियोग लगाएको छ। राजश्व छलीसँग सम्बन्धित यस्ता अभियोगमा मूल्य अभिवृद्धि कर बिलको दुरूपयोग गरी छली गरेको, आयकर छलेको तथा लाभकर छली गरेको उल्लेख गरिएको विभागले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।