११ जेष्ठ २०८३, सोमबार
जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्युनिकरणका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहीबार सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री राउतले जोखिम न्युनिकरणका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको हो ।
प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा मुख्य मन्त्रीले यस्तो निर्देशन दिनुभएको हो । जोखिम न्युनिकरणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सुरक्षा निकायले गरेको तयारी बारे मुख्यमन्त्री राउतले जानकारी लिनुभएको छ। उहाँले जोखिम न्यूनिकरणका लागि आवश्यक सामग्रीको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।


बैठकमा आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिसहितको उपस्थिति रहेको थियो ।