सडकमा गुड्न थाले छोटो दुरीका सार्वजनिक यातायात

होमल्याण्ड खबर

२०७७ असार ३० गते, मंगलवार ०८:१२ मा प्रकाशित

काठमाडौं । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु यातायातलगायतका बस गुड्न थालेका हुन् ।

सरकारले छोटो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि सोमबारदेखि विभिन्न कम्पनीले बस सञ्चालन गर्न थालेका हुन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि बिहीबार सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको थियो । सरकारले छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि लामो दुरीको सवारी चलाउन भने अनुमति दिएको छैन । यता, केही समय अघिदेखि विद्युतीय बस चलाउँदै आएको सुन्दर यातायात प्रालिले आज )(मंगलबार)बाट बस सेवा सुरु गर्ने जनाएको छ । कम्पनीले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा पनि नलिने घोषणा गरेको छ ।

सुन्दरका चारवटा बसले दुईवटा रुटमा सेवा दिने कम्पनीले जनाएको छ । सुन्दर प्रालिका अनुसार सूर्यविनायक–रत्नपार्क र चक्रपथमा सुन्दरका दुई–दुईवटा विद्युतीय बसले सेवा दिनेछन् । सडकमा सार्वजनिक यातायात गुडे पनि यात्रुको संख्या भने न्यून देखिएको छ । अधिकांश बस खाली नै गुडिरहेको पाइएको थियो ।