निजी विद्यालयहरुद्वारा वैकल्पिक शिक्षण सिकाई बन्द, शिक्षक र कर्मचारीलाई बेतलवी विदा

होमल्याण्ड खबर

२०७७ असार ३१ गते, बुधबार २१:४६ मा प्रकाशित

काठमाडौं, निजी विद्यालय सञ्चालकहरुले यही साउन १ गते (भोलि)देखि वैकल्पिक शिक्षण सिकाईका क्रियाकलापहरु स्थगन गर्ने निर्णय गरेको छ । यसका साथै सञ्चालकहरुले आफ्ना शिक्षक तथा कर्मचारीहरुलाई बेतलवी घर–विदा दिने निर्णय पनि गरेको जनाएको छ ।

बुधबार प्याब्सन र नेसनल प्याब्सनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकार शिक्षा मन्त्रालयले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिए पश्चात मात्र विद्यालयका प्रशासन खुल्ला हुने जानकारी गराएको हो ।

त्यस्तै, विद्यालय सूचारु भई आम्दानी सुनिश्चित भए पश्चातः अनुपातिक हिसाबले २०७७ वैशाख देखि असारसम्मको शिक्षक कर्मचारीहरुको तलब लगायत अन्य सबै प्रकारका दायित्वहरु क्रमशः भुक्तानी गरिने पनि जानकारी गराइएको छ ।

समस्या समाधनका लागि प्याब्सन तथा नेसनल प्याब्सन वार्ता संवादका लागि सदैव सकारात्मक रहेको जानकारी गराउँदै आफूहरुबाट पर्न जाने असुविधाप्रति सम्पूर्ण सरोकारवालाहरुसँग क्षमाप्रार्थी रहदै उचित निकासका लागि अपील पनि गरेको छ ।

सरकारले आफूहरुका माग पूरा नगरेको कारण यस्तो निर्णय गर्नुपरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारया गत वर्षको चैतबाट पठनपाठन अवरुद्ध भएपछि शिक्षा मन्त्रालयले २०७७ असार १ गतेबाट लागू हुने गरी “वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका” जारी गरेको थियो ।

‘वैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण निर्देशिका’को अधीनमा रहने गरी संस्थागत विद्यालयहरुले समेत शैक्षिक–सत्र २०७७ का लागि विद्यार्थीहरुको अभिलेखिकरण गर्ने तथा नियमित वैकल्पिक कक्षाहरु (अनलाइन रअफलाइन मार्फत) थप व्यवस्थित गर्ने तयारी गर्दै इन्टरनेटमा पहुँच नहुने विद्यार्थीहरुका लागि टेलिभिजन, रेडियो/एफएम मार्फतसमेत दूरशिक्षा कार्यक्रम सञ्चालन गरेका थिए ।

यस अगाडि गत असार ७ गते निजी विद्यालय सञ्चालकहरुले अपील जारी गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मात्र मासिक शूल्क क्रमशः भुक्तानी गर्दै जाने, सेवा उपलब्ध नगराएको शीर्षकमा लकडाउन अवधिभर शुल्क तिर्नु नपर्ने, विद्यालयहरुले नियमित अनलाइन कक्षा सञ्चालन गर्ने बताएका थिए ।

तर, असार ८ गते शिक्षा मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै अनलाइन कक्षा सञ्चालन गर्दा शूल्क लिन नपाउने निर्देशन जारी गरेको थियो ।

मुलुकभर लगभग ३० लाख विद्यार्थीहरु निजी विद्यालयमा अध्ययनरत रहेको र करिब २ लाख ५० हजार शिक्षक–कर्मचारीले रोजगारी पाएको प्याब्सन तथा एनप्याब्सनले जनाएको छ । तर, कोरोना महामारीका कारण उनीहरुलाई वैशाख महिनादेखि तलब उपलब्ध गराउन नसकिरहेको र उनीहरु भोक–भोकै रहनु पर्ने अवस्था आएको उल्लेख गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘विद्यालयको स्थायी प्रकृतिका खर्चहरुः घरभाडा, बैंकको किस्ता तथा ब्याज, बीमा, टेलिफोन, बिजुली, इंटरनेट ईत्यादि खर्च धान्न नसक्ने गरि विद्यालयहरुको आर्थिक अवस्था जर्जर रहेको छ ।’