विदेशमा अलपत्र नेपाली सरकारी खर्चमै फर्कन पाउने

होमल्याण्ड खबर

२०७७ श्रावण १ गते, बिहीबार १९:२२ मा प्रकाशित

काठमाडौं  । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नागरिक अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने भएका छन् ।
अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने भएका हुन् ।

कोरोनाका कारण अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवद्र्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय सरकारले गरेको प्रवक्ता डा. युवराज खतिडाले बताउनुभयो । यस्तै सरकारले नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिने निर्णय पनि गरेको छ ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरी नेपाल आउन दिने निर्णय सरकारले गरेको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहनुभएका अर्थमन्त्री डा. खतिवडाले सञ्चारमाध्यमको नविकरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताउनुभएको छ ।

राष्ट्रिय प्रसारण नियमावली २०७७, रेडियो सञ्चार नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संशोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको हो ।