चार दिन लगातार भारी वर्षा हुने, पहिरोकाे सम्भावना बढ्यो

होमल्याण्ड खबर

२०७७ श्रावण २ गते, शुक्रबार १४:०२ मा प्रकाशित

काठमाडौं । आउँदो आइतबारदेखि चारदिनसम्म देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको छ । मनसुन सक्रिय भई आइतबारदेखि देशका विभिन्न भागमा तीन दिनदेखि चार दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसअघि पनि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै पहिरो खस्नसक्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह गरेको छ । देशको पूर्वमा मनसुन बढी सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।

आइतबारदेखि अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय हुने भएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताउनुभयो । प्रदेश १, २, ५, वागमती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्ष हुनेछ ।

साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ ।

यसअघि असार महिनाको वर्षा र बाढी पहिरोमा परि करिव एक सय जनाको मृत्यु भएको छ भने ४५ जना हराइरहेका छन् ।