साउनको पहिलो सोमबार पशुपति सुनसान, मन्दिर बिहीबारदेखि खुल्ने

होमल्याण्ड खबर

२०७७ श्रावण ५ गते, सोमबार ०९:५८ मा प्रकाशित

काठमाडौं । हिन्दूहरुको आस्थाकेन्द्र पशुपतिनाथ मन्दिर आउँदो बिहीबारदेखि खुला हुने भएको छ ।दिनहुँ दर्शनार्थी तथा भक्तजनको घुइँचो हुने पवित्रधाम पशुपति कोरोना भाइरस संक्रकणको कारण मुलुकमा लकडाउन गरिएसँगै बन्द छ ।

चैत ११ गतदेखि शुरु गरिएको लकडाउन विभिन्न चरणमा थप्दै पछिल्लो पटक साउन ७ गतेसम्म तोकिएको छ । पशुपति क्षेत्र विकास कोषले लडाउनको अवधिसकिए लगत्तै मन्दिर खुला गर्ने भएको छ ।

पशुपतिनाथमा दिनहुँ आउने दर्शनार्थी तथा भक्तजनको अन्य महिनाको तुलनामा साउनमा बढी घुइँचो लाग्ने गर्छ । दर्शनार्थी तथा भक्तजन अन्य बारको तुलनामा साउनमा बढी आउने गर्छन् ।  तर यस पटक मन्दिर बन्द भएका कारण साउनको पहिलो सोमबार पनि पशुपति क्षेत्र सुनसान नै छ ।

लकडाउनका कारण साउनको पहिलो सोमबार मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताउनुभयो । मन्दिर खुला गरिएपछि यसपछिका सोमबार भने दर्शनार्थी तथा भक्तजनले मन्दिर प्रवेश पाउने उहाँले बताउनु भयो ।