११ जेष्ठ २०८३, सोमबार
काठमाडौँ । सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । आज बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्ने गरेको छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने भएपछि ब्यारेजका दुईवटै नहर बन्द गरिएको छ । वर्षा जारी रहेकाले सप्तकोशीमा बहाव बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ । कोसी ब्यारेज भएर भइरहेको यो बहाव यो वर्षको सबैभन्दा बढी हो । बहावले खतराको सतह पार गरेकोले सुनसरी र सप्तरीका तटीय क्षेत्रमा भोली विहानसम्म उच्च सतर्कता अपनाउन वा सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

