नारायणगढ-मुग्लिन सडकखण्डमा ठूलो चट्टानसहित पुनः पहिरो, सडक पूर्णरुपमा अवरुद्ध

होमल्याण्ड खबर

२०७७ श्रावण ७ गते, बुधबार १४:५९ मा प्रकाशित

काठमाडौं, अविरल वर्षापछि मौसम सामान्य बनेपनि नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। केही दिनअघिबाटै निरन्तर वर्षाले बाटो अवरोध गरेपछि सडक एकतर्फी खुलाइएको थियो । तर गएराति पुन: भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा ठूलो चट्टानसहितको पहिरो झरेपछि नारायणगढ–मुग्लिन अवरोध भएको छ ।

चारकिलोको पहिरो पन्छ्याएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ईन्जिनीयर कृष्णराज अधिकारीले बताए । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध बनेको छ। राति करिब ९ बजे पहिरो खसेको हो। चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४:३० बजे एकतर्फी खुलाइएको उनले बताए ।

पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख पहिरोमा परी अड्किएका  थिए । उनिहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका  थिए ।

सडकमा ठूलो चट्टान खसेकाले पहिरो पन्छ्याएर बाटो खुलाउन समय लाग्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । अहिले पहिरो पन्छ्याउने काम भइरहेको छ ।