दशैँ अगाडि परीक्षा सक्ने त्रिविको तयारी

होमल्याण्ड खबर

२०७७ श्रावण ८ गते, बिहीबार १६:०३ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिविले सेमेष्टर र वार्षिक प्रणालीका परीक्षा सञ्चालन गर्ने तयारी थालेको हो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयका (पनिका) परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टरको अनलाइन परीक्षा लिनेबारे सोच बनाएपनि त्यो सम्भव नहुने भएपछि परीक्षा नै लिने निर्णयमा पुगेकाे बताउनुभयो । त्रिविका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले दशैँ अगाडि रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गराउने तयारी गरिएको जानकारी दिनुभयो ।

त्रिविले चाँडै नै परीक्षाका बारेमा सूचना प्रकाशित गर्ने तयारी गरेको छ । यस पटक विद्यार्थीलाई पायक पर्ने नजिकका क्याम्पसमा परीक्षा केन्द्र राखिने छ । त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ का कारणले सेमेष्टर तथा वार्षिक सबै परीक्षा स्थगन गरेको थियो । स्नातकोत्तर तहको प्रथम, स्नातक तह दोस्रो र विभिन्न तहका सेमेष्टर प्रणालीका परीक्षा रोकिएका छन् ।