१० मंसिर २०८१, सोमबार
काठमाडाैं । मन्त्रिपरिषद्को बैठक बस्न नपाएपछि बिहीबार राष्ट्रिय खेलकुद परिषद्को नयाँ सदस्यसचिव नियुक्ति हुन सकेन । नियमित बस्ने मन्त्रिपरिषदको बैठक बिहीबार नबस्दा राखेपको सदस्यसचिवको नियुक्ति हुन नसकेको हो ।
नयाँ खेलकुद विकास ऐन कार्यान्वयनमा आएपछि पहिलो पटक खुला प्रतिस्पर्धाबाट सदस्यसचिवको नियुक्ति गर्न लागिएको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालय सबै प्रक्रिया पुरा गरेर तीन जनाको नाम सिफारिस गरिसकेको छ ।
खेलकुदमन्त्रीले मन्त्रिपरिषदमा पनि प्रस्ताव दर्ता गराइसकेका छन् । खेलकुद मन्त्रीले प्राप्त गरेको नामावलीमा वर्णानुक्रम अनुसार अन्जु श्रेष्ठ, रमेश सिलवाल र लिलबहादुर थापा रहेका छन् । यी तीन जनाबाट एक जनालाई नेपाल सरकारको विशिष्ट श्रेणीको सुविधासहित राखेपको सदस्य सचिवको नियुक्ति गर्नेछ ।
गत असार ११ गते नयाँ खेलकुद विकास ऐन प्रमाणीकरण गरेपछि त्यसको एक साता अर्थात असार १७ गतेदेखि सदस्य सचिव तथा उपाध्यक्ष र सदस्यहरुको कार्याकाल स्वतः समाप्त भएको थियो । त्यसपछि मन्त्रालयले नयाँ प्रक्रिया शुरु गर्नका लागि सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा सदस्य सचिव छनोट समिति गठन गरिएको थियो ।