सामाजिक कार्यमा कारु स्मृति प्रतिष्ठान धादिङका यूवाहरु

होमल्याण्ड खबर

२०७७ श्रावण ११ गते, आईतवार १५:५३ मा प्रकाशित

प्रदिपश्रेष्ठ /

धादिङ, कारु स्मृति प्रतिष्ठान धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ५ बेनिघाट बजारमा अवस्थित छ । यस संस्थाले आफ्नो स्थापनाकाल देखि हालसम्म विभिन्न सामाजिक कार्यक्रमहरु गरी सोही ठाउँका स्थानियहरुको मन जित्न सफल भएका छन् । विगतमा यस संस्थाले जिल्ला स्तरीय खेलकुद कार्यक्रम आयोजना, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रम, स्वास्थ्यशिविर, रक्तदानकार्यक्रम, बजार सरसफाई र फोहोरमैला व्यवस्थापन, पृथ्वी राजमार्गमा हुने विभिन्न सवारी दुर्घटनाका घाइतेहरुलाई उद्दार तथा राजमार्ग अवरुद्ध हुँदा मध्यस्तकर्ताको भुमिका खेली सवारी साधनहरु आवज–जावत गर्न सहज वातावरण बनाउदै आएको छन् ।

वर्तमान परिस्थितिमा कोभिड–१९ अर्थात् कोरोना भाइरस महामारीले संसारभरी नै जनजीवन उथलपुथल भइरहेको छ । यस महामारीको अवस्थामा कारु स्मृति प्रतिष्ठानले झन बढी प्रभावकारी भुमिका निभाउदै आएको छ । नेपाल सरकारले आवद्ध गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै यस संस्थाले बेनिघाट बजार क्षेत्रमा मास्क वितरण गर्नुको साथै कोरोना भाईरसबाट कसरी बाच्न सकिन्छ भनि जनचेतना मुलक कार्यक्रम गरी ब्यानर प्रिन्ट मार्फत चोक चोकमा ब्यानर राखेर कोरोना भाइरसबाट बच्ने सन्देशजारी गरिएको थियो ।

लकडाउन भएको दोस्रो हप्ताबाट दैनिक गुजारा चलाउन कठिन भएका सर्वसाधारणहरु काठमाडौं उपत्यका छोडी पृथ्वी राजमार्ग हुँदै आफ्नो गाउँघर फर्कनेहरुकोे भिड देखिएपछि उक्त संस्थाले सामाजिक दुरी कायम गर्दै बेनिघाट बजारमा हेल्प डेस्कको स्थापना गरेको थियो । हेल्प डेस्क मार्फत दिउँसो राजमार्ग हुँदै पैदल तथा साइकलबाट यात्रा गर्ने यात्रुहरुका लागि खाजा, पानी र मास्क उपलब्ध गराएको थियाो । स्थानिय सरकार, स्थानिय बृद्धिजिवि अभिभावक र कारु स्मृति प्रतिष्ठानका यूवाहरु मिलेर बेलुका हिड्ने पैदल यात्रुहरुलाई खाना र बास स्थानकोे व्यवस्था मिलाए थियो । साथै लकडाउनको बेला स्थानिय सरकारले गरिब, दुखी र दैनिक मजदुरी गरी जिवनयापन गर्ने जनताहरुलाई राहतवितरण गरिएको थियो । सोही राहत वितरण कार्यक्रमा कारु स्मृति प्रतिष्ठानले बेनिघाट वडा नं. ५ भित्र स्वयम सेवकको भुमिका निर्वाह गरेका थिए र वडा नं. ५ लाई केहीबोरा चामल, नुन तेल र दाल समेत किनेर सहयोग पनि गरेको थियो ।

हालैसालै मात्र प्रकृतिप्रकोप अर्थात लगातार परेको वर्षाले गर्दा आएको बाढी, पहिरोले धादिङ जिल्लाको विभिन्न ठाउँमा क्षति भएता पनि विशेष गरी बेनिधाट रोराङ गाउँपालिकामा अन्य ठाउँको भन्दा बढी क्षति भएको देखिन्छ । बेनिघाट बजारमा पहिरोले क्षति पु¥याएको र प्रकृति विपत्मा परेका घर परिवारलाई यस प्रतिष्ठानका यूवाहरुको सक्रियतामा उद्दार गरेको थिए ।

अविरल वर्षाका कारण गोरखा र धादिङ जिल्ला जोड्ने पुलमा लेदो माटो र ढुङ्गा थुपारिएको थियो र सवारी साधनहरु आवज–जावतमा अवरोध भएको थियो । यस प्रतिष्ठानका यूवाहरु मिलि डोजरद्वारा पुलमा रहेको लेदो माटो र ढुङ्गा हटाई, मानिसहरु र सवारी साधनहरु आवज–जावत सहज बनाउनका सहयोग गरेका छन् ।
आगामी दिनहरुमा पनि भैपरी आउने जुनसुकै विषम परिस्थिति, सुख,दुःख, समाजका स्तर उन्नतीका लागि यस कारु स्मृति प्रतिष्ठानका यूवाहरुले सदैव अहिले जसरी नै सक्रिय हुने प्रतिबद्धता गरेको छन् ।
यसै गरी हरेक समाजका यूवाहरु सामाजिक कार्यमा सक्रिय भए भने राम्रो समाजनिर्माण गर्न सकिन्छ भन्ने सन्देश समेत यस कारु स्मृति प्रतिष्ठान धादिङका युवाहरुले दिएका छन् ।