कक्षा ११ को नयाँ पुस्तक तयार, कक्षा १२ सम्मकै पुस्तक फेर्ने तयारी

होमल्याण्ड खबर

२०७७ श्रावण १२ गते, सोमबार १३:०७ मा प्रकाशित

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ को नयाँ पुस्तक तयार गरेको छ । केन्द्रले परिवर्तित पाठ्यक्रम अनुसार विज्ञको सहयोगमा अनिवार्यतर्फका तीन वटा विषयको पुस्तक तयार पारेको हो । अनिवार्य नेपाली, अंग्रेजी र सामाजिक विषयको पुस्तक तयार भएको केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिएका छन् । ती पुस्तकहरु एक साताभित्रमा छपाइका लागि छापाखानामा पठाइने बताइएको छ ।

परिवर्तित पाठ्यक्रम अनुसार कक्षा ११ मा ६ वटा विषयको पढाइ हुनेछ । जसमा तीन वटा अनिवार्य र तीनवटा ऐच्छिक विषयको पढाइ हुनेछ । कक्षा ११ र १२ मा गरेर एक सयभन्दा बढी ऐच्छिक विषय हुनेछन् । तीमध्ये विद्यार्थीको रोजाइमा रहेका मुख्य विषयहरुको पाठ्यक्रम तयार भइसकेका छन् । केही विषयको पाठ्यक्रम बन्ने क्रममै रहेको भट्टराईले बताए । केन्द्रले यही वर्षदेखि लागु हुने गरी कक्षा १ को पुस्तक पनि परिवर्तन गरेको छ ।

२०८० सालभित्रमा कक्षा १२ सम्मकै पुस्तक फेर्ने तयारी गरिएको छ । सरकारले कक्षा १ देखि १२ सम्मको पढाइलाई विद्यालय तहमा गाभेपछि पढाइको शैली पनि बदलिएको छ । यो परिवर्तनसँगै कक्षा ११ मा एउटा विद्यालयमा पढेको विद्यार्थी कक्षा १२ को पढाइका लागि अर्को विद्यालयमा जान सक्नेछन् ।