बाढी पहिरोको कारण देशभर ८ जनाको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण १३ गते, मंगलवार १५:३५ मा प्रकाशित

देशका विभिन्न स्थानमा बाढी पहिरोको कारण ८ जनाको मृत्यु भएको छ । पाँच जना बेपत्ता भएका छन् । रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । चार जनाको उद्धार गरिएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा आज बिहान खसेको पहिरोले २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ ।

पाल्पामा १ जनाको मृत्यु
पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्सेदीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।लगातारको वर्षासँगै आएको भेलले धानबालीमा क्षति गर्ने भन्दै उनी गएराति करिब १ बजे भेल तर्काउन खेतमा गएका बेला पहिरोमा परेका हुन् । खेतमा नपुग्दै उनलाई माथिबाट आएको पहिरोमा उनी परेको गिरीले बताउनुभयो ।

बाग्लुङमा ४ जनाको मृत्यु
बाग्लुङमा बाढी र पहिरोमा परी चारजनाको मृत्यु भएको छ । गएराति पहिरोले तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर र १२ वर्षीया छोरी रीताको मृत्यु भएको हो । बैदेशीक रोजगारीमा रहेका पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
त्यस्तै, निसीखोला गाउँपालिका–१ मा एक घर पहिरोले परिँदा करिब पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । निसीखोला गाउँपालिकामा नै करिब ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । उनको पहिचान अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।

कालिकोटमा १ को मृत्यु ५ बेपत्ता 

कालिकोटमा खोलाले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । जिल्लाको रास्कोट नगरपालिका–१ बड्तोलामा खोलाले घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता भएको र सोही परिवारका एक जनाको शव फेला परेको रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द बरालले जनाकारी दिए । रास्कोटमा पहिरोले एक घर र कर्णाली करिडरको पुल समेत बगाएको छ ।

भोजपुरमा तीन घाइते
भोजपुरको षडानन्द नगरपालिका–२ कुदाकाउलेमा बाढीले घर बगाउँदा तीन जना घाइते भएका छन् । स्थानीय अमृत घले, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषा घाइते भएको प्रहरीले जनाएको छ । आज बिहान चिर्खुवा खोलामा आएको बाढीले घलेको एकतले घरसहित पसलसमेत बगाएको छ । घाइते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना  अधिकारी प्रदीप लामाले जानकारी दिए ।