९ मंसिर २०८१, आईतवार
काठमाडौं । नेपाल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले आफ्नो साधारण बचत खाताको ब्याजदर ३ प्रतिशतसम्म झारेको छ। अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । उक्त ब्याजदर बैंकले १३ प्रकारको खातामा लागू हुने जनाएको छ। दश प्रकारका खातामा ४ प्रतिशत र एक प्रकारको खातामा ३ प्रतिशत ब्याज प्रदान गर्ने बैंकले जनाएको छ।
त्यस्तै इम्प्लोई वेलफेयर अकाउण्टमा ५ प्रतिशत, अक्षयकोष खातामा ६।५० प्रतिशत, एनबिएल ट्रष्ट फण्डमा ७.२५ प्रतिशत, र साधारण कल खातामा २ प्रतिशत ब्याज पाइने बैंकद्धारा जारी सूचनामा उल्लेख छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ३ महिनामा ७ दशमलव २५ प्रतिशत र ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ७ दशमलव २५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।
त्यसैगरि, संस्थागत मुद्दतीतर्फ भने बैंकले ३ महिनामा ६ दशमलव ५० प्रतिशत, ३ महिनादेखि ५ वर्ष अवधिसम्ममा पनि ६ दशमलव ५० प्रतिशत नै ब्याजदर दिने भएको छ। नवीकरण हुने संस्थागत मुद्दतीमा भने थप ० दशमलव १० प्रतिशत गरी ६ दशमलव ६० प्रतिशत ब्याजदर दिने सूचनामा उल्लेख गरिएको छ ।