११ जेष्ठ २०८३, सोमबार
सरकारले साउन १५ गतेदेखि होटेल, रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेसँगै देशभरका होटेल तथा रेस्टुरेन्ट खुलेका छन् । मन्त्रिपरिषद् बैठकले होटेल, रेस्टुराँ, ट्रेकिङ, ट्राभल र पर्वतारोहण व्यवसायसँग सम्बन्धित क्षेत्र खोल्ने निर्णय गरेको थियो ।
सरकारले होटेल व्यवसाय खुलाउने निर्णय गरेसँगै देशभरका होटेल तथा रेस्टुरेन्ट खुलेको होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । “सरकारले बन्द गर्नुभन्दा बन्द गरेका थियौं । अब खोल भनेको छ, त्यसैले सबै होटेल तथा रेस्टुरेन्ट खुलेका छन्, कतिपय खुलाउने तयारीमा छन्,” उनले भने ।


सरकारको जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै होटेल तथा रेस्टुरेन्ट खोलिएको उनले बताए । “हामीले कर्मचारी, ग्राहकको स्वास्थ्यलाई निकै ध्यान दिएर सरकारको निर्देशन पूर्ण पालना गरी व्यवसाय गर्न भनेको छौं,” उनले भने, “हाम्रो ध्यान स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन्छौं ।”
सरकारले हिउँदे सिजनको पर्यटन व्यवसायलाई सुरु गर्ने तयारी स्वरूप सरकारले होटेल, रेस्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल्स व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको हो । व्यवसायीहरूले पनि आगामी सिजनलाई ध्यानमा राखेर व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै आएका थिए । पर्यटकीय क्षेत्र ठमेल, पोखरा, सौराहा, लुम्बिनीलगायत क्षेत्रका होटेल खुलेका छन् ।
अन्तर्राष्ट्रिय क्षेत्रलाई सकारात्मक सन्देश दिने
होटेल, ट्रेकिङ, ट्राभल्स खुलेसँगै यसले अन्तर्राष्ट्रिय पर्यटकलाई सकारात्मक सन्देश दिने व्यवसायी विनायक शाहले बताए । “पाँच महिनापछि व्यवसाय खुलेको छ, व्यापार हुँदैन तर पनि यसले सकारात्मक सन्देश भने पक्कै दिन्छ,” उनले भने । सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा पनि खुलाउने निर्णय गरिसकेको छ । त्यसले पनि आगामी पर्यटन सिजनलाई सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यवसायीको छ ।
स्वास्थ्य सुरक्षामा विशेष जोड
व्यवसायी शाहले स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिइने बताए । सोहीअनुरूप आफूहरूले कर्मचारीलाई तालिम दिने, होटेल सरसफाइ गर्नेलगायत काम गरिरहेको उनले बताए । हामीले स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिएको र होटेल तथा रेस्टुरेन्ट खुलेको समाचारले नेपालमा घुम्न आउने पर्यटकलाई सकारात्मक सन्देश दिने र व्यवसायीलाई पनि ऊर्जा प्रदान गर्ने विश्वास व्यवसायीको हो ।