कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतक ५२ पुगे

होमल्याण्ड खबर

२०७७ श्रावण १५ गते, बिहीबार १७:३४ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मोरङका एक र पर्साका दुई जना गरी थप तीन जनाको मृत्यु भएको हो ।

मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको आइसियु भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो ।

यस्तै पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका बिरामी उनी एक नीजि अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए ।

पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।