१० मंसिर २०८१, सोमबार
देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।
२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगो लागेको छ ।
२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचारी, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।
२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।
२०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रतिको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले बताएका छन् ।