आजबाट जोरबिजोर प्रणाली लागू,यस्तो छ नियम

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार ०९:५५ मा प्रकाशित

काठमाडौँ । सरकारले आजबाट फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । कोरोना भाइरस कोभिड–१९ को जोखिम बढेसँगै जोर विजोर प्रणाली लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिए । यो प्रणाली काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २ सय जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा लागू हुनेछ ।

यो प्रणाली लागु भएका क्षेत्रमा जोर गतेका दिन जोर नम्बर प्लेटका सवारीसाधन र विजोर गतेका दिन विजोर नम्बरका सवारी साधान चलाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए ।

सरकारले असार २६ गतेबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकाका तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो । आजबाट राति ९ बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न समेत रोक लगाइएको मन्त्रालयले जनाएको छ ।