भदौ १ देखि विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको परिपत्र

होमल्याण्ड खबर

२०७७ श्रावण २२ गते, बिहीबार २२:०१ मा प्रकाशित

काठमाडौं । शिक्षा मन्त्रालयले भदौ १ देखि विद्यालय खोल्ने मन्त्रीपरिषद्को निर्णय कार्यन्वयन गराउन  सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरण गरेर ६ बुँदे निर्णय कार्यान्वयन गर्न र गराउन परिपत्र गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमद्वारा हस्ताक्षरित परिपत्रमा कोभिड १९ का कारण बन्द रहेका विद्यालयमा जनस्वास्थ्य मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी शैक्षिक क्रियाकलाप सञ्चालन गर्न भनिएको छ ।
पत्रमा भदौ १ देखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक विवरण यकिन गर्ने, शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन बाँकी रहेको भए प्रकाशन गर्ने,  भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउने, शिक्षकहरु विद्यालय आउने व्यवस्था मिलाउने,विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिएको छ । विद्यालय भवन र परिसरमा क्वारेन्टाइन र आइसोलेसन नराख्ने, यस प्रयोजनका लागि प्रयोग भएका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मली करण गरी अध्ययन अध्यापन गर्न योग्न बनाउने पनि भनिएको छ ।