उपत्यकामा कोरोना नियन्त्रणका लागि नयाँ मापडण्ड ल्याइदैँ

होमल्याण्ड खबर

२०७७ श्रावण २३ गते, शुक्रबार ०९:४४ मा प्रकाशित

काठमाडौँ । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सम्मिलित बैठक आज (शुक्रबार) बस्दैछ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवश्यक रणनिति तय गर्न बैठक बस्न लागेको हो ।

पछिल्लो समय काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्र कोरोना संक्रमित बढेपछि त्यसलाई न्युनिकरण गर्न उपत्यकाभित्र नयाँ मापदण्ड ल्याउने तयारी भएको छ । तीन वटै जिल्लामा सञ्चालित कार्यालय,उद्योग कलकारखाना,होटल रेस्टुराँ,दैनिक उपभोग्य वस्तु बिक्री स्थल, सपिङ सेन्टर लगायतमा नयाँ मापदण्ड लागु गर्नेबारे बैठकमा छलफल हुने जनाएको छ ।

लकडाउन व्यवस्थित गर्नेसम्बन्धी यसअघि जारी गरिएको ‘सुरक्षा मापदण्ड–२०७७’ र स्वास्थ्य मन्त्रालयको मापदण्ड तथा सरकारबाट लकडाउनपछि विभिन्न मितिमा तय गरिएका आदेशको पूर्ण पालना गराउन पनि सेवा प्रवाहसम्बन्धी नयाँ मापदण्ड ल्याउन आवश्यक भएको तीनवटै जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । असार ५ गते जारी गरिएको सुरक्षा मापदण्ड उल्लंघन गरेर भेला,जुलुस,सभा सम्मेलन गर्ने,मास्क र सेनिटाइजर प्रयोगमा बेवास्ता तथा भौतिक दूरी कायम नगर्ने प्रवृत्ति बढेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

अन्य जिल्लाबाट अनुमतिबिना आएका मानिस तथा सवारीका कारण उपत्यकामा समस्या थपिएको बताइएको छ । लकडाउनकै मोडालिटीमा नगए पनि संक्रमणको जोखिम हेरेर आवश्यक कडाईका साथ प्रतिकार्य योजना बनाउन लागिएको दाहालले बताए । अहिले लागू गरिएका विधि र प्रक्रियाबाट नपुगे निषेधाज्ञामै जाने गरी रणनिति बनाउने गृहकार्य थालिएको जनाएको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गदैँ अर्थमन्त्री खतिवडाले तत्काल पूर्ण रुपमा लकडाउन घोषणा नगर्ने बताएका थिए । उनले भदौँ १ बाट सञ्चालन गर्ने भनिएको लामो दूरीको यातायात र हवाई उडानका बारे भने पून विचार गर्ने बताएका थिए ।