विवादित अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

होमल्याण्ड खबर

२०७७ श्रावण २४ गते, शनिबार १०:०१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै उनले अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरे।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाएका छन् ।  भारतमा भएको अयोध्याका विषयमा त्यहाँका जनतासमेत विश्वस्त नरहेको पाइएकाले हाम्रो अयोध्याका विषयमा थप अध्ययन र संरक्षणमा जुट्नुपर्छ । तपाईँहरु के के गर्दै हुनुहुन्छ,  तुरुन्तै काम अघि बढाउनुप¥यो ।”

प्रधानमन्त्रीले आफूले अयोध्याका बारेमा अध्ययन गर्दा प्रमाण बलियो भेटिएको तथा सोमेश्वर गढी, वाल्मिकी आश्रमलगायत स्थानसमेत बलियो आधार भएको बताएको सुवेदीले जानकारीदिए । .उनले भने, “प्रधानमन्त्री अयोध्याका विषयमा माडीको टोलीसँग छलफलका लागि आतुर हुनुहुन्छ ।”

यसैबीच प्रधानमन्त्री ओलीले माडीका नगर प्रमुखसहितका प्रतिनिधिलाई भेट गर्नलाई आज बोलाएका छन् । प्रधानमन्त्रीले गत असार २९ गते भानुजयन्तीका दिन राम नेपालकै ठोरी क्षेत्रमा जन्मेको हुन सक्ने अभिव्यक्ति दिएका थिए । माडीको अयोध्यापुरी, वाल्मिकी आश्रम, गोद्धकलगायत क्षेत्रमा पुरानो मुद्रा, इँटा, पुराना भवनका अवशेषजस्ता पुरातात्विक वस्तु भेटिँदै आएको छ ।