काठमाडौ उपत्यका कोरोनाको उच्च जोखिममा

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १०:५४ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत उपत्यकाका मानिसहरुमा सङ्क्रमण हुन थालेको हो ।

मानिसहरुले सरकारले तोकेको मापदण्ड पालना नगरि लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउछन् । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ ।

शुक्रबार काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उनका  परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उनको घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौँ महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउछन् । अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ ।यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको भन्दै उनले  जसरी सङ्क्रमणदर बढ्दो छ, त्यसरी नै परीक्षणको दायरा बढाउनु आवश्यक हुने बताए ।

सङ्क्रमण बढेपछि विभिन्न जिल्लार स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेर नियन्त्रण प्रयास गरिरहेका छन् । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले पनि आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेका छन् । समुदायले आफैँ सचेत भएन भने नियन्त्रण गर्न कठिन हुने चिकित्सकले बताएका छन् ।