मंगलबारसम्म वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १४:३९ मा प्रकाशित

काठमाडौं । मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रहेकाले तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयाे । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने जानकारी दिएको छ । वर्षासँगै उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

आज अपराह्न देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।