स्मार्ट मिटर जडान सुरु, विल नतिर्ने ग्राहकको लाइन अनलाइनबाटै काटिने

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १५:४१ मा प्रकाशित

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान सुरु गरेको छ । प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान सुरु गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान शुभारम्भ गरेका छन् ।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकामा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्री फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने प्राधिरकणको तयारी छ । स्मार्ट मिटर प्रयोगमा आएपछि विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र विल नतिर्ने ग्राहकको लाइन अनलाइनबाट काट्न सकिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा २ हजार ५ सय देखि ३ हजारसम्म कर्मचारीको खर्च कम हुने बताए ।  प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २ सय २२ टाइम अफ डे मिटरहरुलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्री फेजलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने तयारी भएको घिमिङले बताए ।