आज कृष्ण जन्माष्टमी पर्व ,कोरोनाका कारण मन्दिर प्रवेशमा रोक

होमल्याण्ड खबर

२०७७ श्रावण २७ गते, मंगलवार ०८:५५ मा प्रकाशित

काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी पर्व । वैदिक सनातन धर्मावलम्बीले आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन,भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

भगवान कृष्णले महाभारतको युद्धका बेला अन्याय र असत्यको बाटोमा लागेका कौरवको विपक्षमा रहेर सत्य र परोपकारमा लागेका पाण्डवलाई साथ दिई धर्मयुद्ध गराई न्यायको स्थापना गर्न सहयोग गर्नुभएको थियो ।

आजका दिन ललितपुरको पाटनस्थित कृष्णमन्दिर,काठमाडौको स्वयम्भूमा रहेको गीतामन्दिर,टेकुमा रहेको राधाकृष्णमन्दिर, बूढानीलकण्ठस्थित कृष्णमन्दिरका साथै चतराधाम,कालीगण्डकी नदीकिनारमा रहेको देवघाट केलादीघाट रुरुक्षेत्रका कृष्णमन्दिर लगायत देशैभर भगवान श्रीकृष्णको विशेष भक्ति र उपासना गरी कृष्णजन्माष्टमी पर्व मनाउने परम्परा छ । तर यस वर्ष कारोना भइरसको संक्रमणबाट उत्पन्न महामारीका कारण मन्दिरमा सर्वसाधारणको प्रवेश रोक लगाइएको छ ।