१० जेष्ठ २०८३, आईतवार
काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप पाचँ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई ,सप्तरी ,मोरङ र बुटुवलमा एक–एक जनाको मृत्यु भएको हो ।
गत साउन १८ गते ललितपुरको पाटन अस्पताल भर्ना भएकी जनकपुरकी २८ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।


ललितपुरकै किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको थियो । उनको कोरोना परिक्षण गर्दा बुधबार बिहान रिपोर्ट पोजेटिभ आएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । ज्वरो, पखाला र वान्ताको समस्या देखिएपछि उनलाई साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनको आईसीयुमा राखेर उपचार गर्ने क्रममा मंगलबार राति मृत्यु भएको पाठकले बताए ।
यस्तै कोरोना संक्रमणबाट सप्तरी को डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मंगलबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चार दिनअघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गर्न दिएका थिए। मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा ल्याउन एम्बुलेन्स पुगेको थियो। एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयका एक कर्मचारीले बताए ।
कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।ज्वरो आएका र श्वाश्सप्रश्वासमा समस्या देखिएका पुरुषलाई साउन २६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बुधबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको अस्तपतालले जनाएको छ।
बुधबार पाचँ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसगैँ नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ । बुधबार मृत्यु भएकाहरुको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गर्न बाकिँ रहेको छ ।