राष्ट्रिय परिचयपत्रको विवरण भर्ने कार्य स्थगित

होमल्याण्ड खबर

२०७७ श्रावण २९ गते, बिहीबार १०:३३ मा प्रकाशित

काभ्रे । कोरोना भाइरस संक्रमणककारण जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण भर्ने काम अनिश्चित समयका लागि स्थगन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विवरण कार्य ततकालको लागि लागि स्थगन गरिएको जानकारी दिनुभएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा बढिरहेको भन्दै राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने क्रममा डिजिटल दस्तखत, डिजिटल औँठा छाप र डिजिटल आइरिस लिने कार्य बन्द गरिएको हो ।

त्यो कार्यका लागि व्यक्ति स्वयंसँग कर्मचारी नजिकमा रहनुपर्ने र एक व्यक्तिबाट लिइएको डिजिटलाइज उपरोक्त कार्य डिस्इन्फेक्ट नगरी अर्को व्यक्तिले प्रयोग गर्दा सङ्क्रमणको जोखिम बढ्न सक्नेसमेत देखिएकाले सोबाट बच्नका लागि राष्ट्रिय परिचयपत्रका विवरण संकलन सम्बन्धी सेवा प्रवाहलाई अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाल स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताउनुभयो ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र व्यवस्थापन विभागबाट भएको त्यो कार्यको लागि जिल्ला प्रशासनले विवरण भर्नका लागि असार ३१ गतेबाट आवश्यक कक्षको व्यवस्थापन गरी काम शुरु गरेको थियो ।