आफ्नो अधिकार कटौती गर्दै आइजीपी

होमल्याण्ड खबर

२०७७ श्रावण २९ गते, बिहीबार १४:४४ मा प्रकाशित

काठमाडौं । प्रहरी महानीरिक्षक (आइजीपी)शैलेश थापा क्षेत्रीले आफ्नो अधिकारलाई विभाजन गरी सामूहिक निर्णय गर्ने भएका छन् । प्रहरीको पोलिसी कोर्डिनेशन कमिटी (पीसीसी)को बैठकले प्रहरी प्रधान कार्यालयले महानिरीक्षकमा केन्द्रित केही अधिकार विकेन्द्रित गर्ने निर्णय गराउदै अधिकार कटौति गरेका हुन् । पिसिसी०को बैठकमार्फत प्रहरी महानिरीक्षकको सचिवालयमा केन्द्रित अधिकार अन्य विभागमा बाँडफाँड गर्ने निर्णय गरेको हो ।
बैठकले महानिरीक्षकको सचिवालयमातहतका महाशाखाहरूलाई अन्य विभागअन्तर्गत राख्ने निर्णय गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम हेर्ने जिम्मेवारी कार्य तथा अपराध अनुसन्धान विभागअन्तर्गतको सुरक्षा महाशाखालाई दिइएको छ भने सवारी महाशाखा पनि अपराध अनुसन्धान विभागअन्तर्गत राखिएको छ ।  सचिवालयमातहत रहेका प्रशासन महाशाखा, युएन महाशाखालाई मानव स्रोत तथा प्रशासन विभागमातहत राखिएको छ । त्यस्तै, नेपाल प्रहरी संगीत विद्यालयलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानअन्तर्गत तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरसँग समन्वय गर्ने जिम्मेवारी कार्य विभागलाई दिइएको छ ।

सर्वेन्द्र खनालको कार्यकालमा उनले प्रहरीका कामहरू महानिरीक्षकको सचिवालयमा केन्द्रीकृत गरेका थिए । त्यसलाई हाल हेरफेर गरिएको हो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नियुक्त भएकै दिनमा आफू सामूहिक नेतृत्व प्रणालीमा चल्ने घोषणा गरेका थिए । उनले शुरुकै दिनमा आफू सबैसँग मिलेर जान चाहेको र काम पनि त्यही गर्नै बताएका थिए । उनी आएको एक महिनामै विभागीय हेरफेर गर्दे आफू मातहत रहेका सबै अधिकारलाई विभागीय प्रमुखहरुलाई दिएका हुन् ।