हाल देशका ४१ जिल्लामा पूर्ण तथा आंशिक लकडाउन

होमल्याण्ड खबर

२०७७ भाद्र १ गते, सोमबार ११:२८ मा प्रकाशित

काठमाडौँ । कोरोना भाइरसको संक्रणम बढ्न थालेपछि देशका ४१ जिल्लामा पूर्ण वा आंशिक लकडाउन गरिएको छ । हाल देशका विभिन्न ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

२८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेको बताएका छन् । अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन् ।

पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ । नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरी नै अत्यावश्यकबाहेकका सेवामा रोक लगाइएको छ । त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन गरिएको छ ।

‘रेडजोन’मा भए पनि काठमाडौं उपत्यकामा भने निषेधाज्ञा जारी नगरिएको बताइएको छ  । उपत्यकामा सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गरिएको छ । हाल ७२ जिल्लामा कोरोना भाइरसको  संक्रमण देखिएको छ । संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा भने नयाँ संक्रमित नभेटिएको बताइएको छ ।