१० जेष्ठ २०८३, आईतवार
बारा । बारामा दुई गाउँबीच झडप रोक्न प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको बताइएको छ । सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिएका हुन् ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रको भनाई छ । ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप नरोकिएपछि १३ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ । अहिले स्थिति सामान्य भएको डीएसपी मिश्रले बताए ।

