१० जेष्ठ २०८३, आईतवार
काठमाडौ । एक सय एक वर्षको उमेरमा मंगलबार साँझ राजधानिको लैनचौरस्थित आफ्नै निवासमा निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बुधबारमात्र अन्त्येष्टि गरिने भएको छ । नेपाली सेनाको सलामीसहित उनको भोलि अन्तिम संस्कार हुने भएको हो । अहिले राष्ट्रकवि निवास लैनचौरमा आफन्त र शुभेच्छुकहरुको भिड लागेको छ । घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने तयारी समेत गरेको छ ।
सेनाका अधिकृतको नेतृत्वको टुकडीले घिमिरेलाई सलामी दिन लागेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । घिमिरेको जन्म लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । वि.सं. १९७६ असोज ७ गते जन्मिएका उनका तीन वर्षमा आमा बितेकी थिइन । ६ वर्ष हुँदा अक्षर चिनेका उनले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गरे। ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा लमजुङ गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उनले प्रथमा उत्तीर्ण गरे। त्यसपछिको अध्ययनका लागि उनी बनारस पुगे । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका छन् ।


राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो । राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए ।